वाम गठबन्धनमा समानुपातिकको अन्तिम सूचीः ६० प्रतिशत महिला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाम गठबन्धनमा समानुपातिकको अन्तिम सूचीः ६० प्रतिशत महिला

CPN-UML

काठमाडौं, १४ कार्तिक । वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन्। दुवै दलले करिब ६० प्रतिशत महिला उम्मेदवार समेटेर सूची बुझाएको जनाएका छन् । दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रका प्रत्यक्षतर्फ सिट बाँडफाँड भने अझै टुंगिएको छैन। झापा, मोरङ, सुनसरीसहितका जिल्लामा तालमेल मिल्न नसक्दा दुवै दलले उम्मेदवारको अन्तिम सूची तय गर्न सकेका छैनन् । समानुपातिकतर्फको सूची भने आइतबार मध्यराति आयोगमा बुझाएका हुन् ।

दुवै दलले केन्द्र (प्रतिनिधिसभा) र प्रदेशसभा दुवैका लागि कुल समानुपातिक सिट संख्या ३ सय ३० जनाकै नाम सूचीमा पेस गरेका छन् । माओवादी केन्द्र प्रवक्ता पम्फा भुसालले केन्द्रमा १ सय १० र प्रदेशमा २ सय २० जनाको सूची आयोगमा कार्यालय समयमै पेस गरिएको जानकारी दिइन्। ‘त्यसमा बढी महिला नै छन्,’ उनले भनिन् । माओवादी केन्द्रले करिब ६० प्रतिशत महिला उम्मेदवार सिफारिस गरेको छ। एमालेले पनि सोही हाराहारी महिला उम्मेदवार समेटेको जनाएको छ। ‘संविधानको व्यवस्था पालना गर्न हामी प्रतिबद्ध छौं,’ एमाले स्थायी समिति सदस्य सुवास नेम्वाङले भने, ‘प्रतिशतका आधारमा पुरुषका भन्दा बढी नै नाम महिलाका परेका छन्।’

संविधानले दुवै सभामा ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। प्रत्यक्ष चुनावबाट निर्धारित सिट नपुग्ने हुँदा दलहरूलाई समानुपातिकबाट उक्त प्रतिशत पुर्‍याउनुपर्ने बाध्यता छ। त्यसका लागि पनि पुरुषभन्दा बढी नाम समानुपातिक सूचीमा राख्नुपर्ने बाध्यता भएको हो।

प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको सिट विभाजन भने केही जिल्लामा अझै मिलिसकेको छैन। दुवै दलका शीर्ष नेता संलग्न एकता संयोजन समितिले टुंगो लगाउने भनिए पनि आइतबार समानुपातिक नाममै अलमल हुँदा त्यसको निक्र्योल हुन सकेन।

पाँचवटा जिल्लामा दुवै दलका उम्मेदवारले दाबी छाडेका छैनन् । बाँकी निर्वाचन क्षेत्रमा भने कार्यदलले सिट बाँडफाँड र उम्मेदवारको सूची अनौपचारिक रूपमा टुंगो लगाइसकेको छ। ‘कतिपय क्षेत्रमा जित्ने उम्मेदवार खोज्ने क्रममा टुंगो लागिसकेको छैन । धेरैजसो क्षेत्रमा उम्मेदवार टुंगो लागेको छ। घोषणा हुन मात्र बाँकी हो,’ नेम्वाङले भने।

माओवादी केन्द्रबाट समानुपातिकतर्फ पदाधिकारी र सचिवालयमा रहेका नेताहरूले इच्छा देखाएका छैनन् । प्रमुख नेताहरूले प्रत्यक्षतर्फ सिट मिलान गरिरहेका छन् । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, कृष्णबहादुर महरा, जनार्दन शर्मा, देव गुरुङ, शक्तिबहादुर बस्नेत, भुसाललगायत नेता प्रत्यक्षमै लडदै छन्।

एमालेबाट पनि अध्यक्ष केपी ओलीसहित सबै पदाधिकारी प्रत्यक्षबाट उठ्दै छन्। समानुपातिकमा स्थायी समितिबाट ३ जनाको नाम परेको एक नेताले जानकारी दिए। स्थायी समितिका मुकुन्द न्यौपाने, सोमनाथ प्यासी र डा. पुष्प कँडेल समानुपातिकमा छन्। त्यस्तै, राधा ज्ञवाली, थममाया थापा, रामप्रित पासवान, मणिकुमार लिम्बुसहितका नाम सूचीमा परेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);