काठमाडौं । बुधबार देखि काँग्रेस पार्टी कार्यालय सानेपामा जारी नेपाली काँग्रेस जिल्ला सभापतिहरुको रिले अनशन आज दोस्रो दिन पनि जारी छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै हिजो बुधबार देखि रामचन्द्र पौड्याल पक्षधर जिल्ला सभापतिहरुले रिने अनशन सुरु गरेका हुन् ।
हिजो बुधबार काभ्रे जिल्ला सभापति मधु आचार्य, नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी र धादिङ जिल्ला सभापति रमेश धमला अनशनमा बसेका थिए ।
आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बसेका हुन् ।
त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरी गुरागाईं पनि अनशनमा बसेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुंगो नलाग्दा भदौ १८ मा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशंका बढेको छ ।