पुष्कर भट्ट,
कञ्चनपुर । भिमदत्त नगरपालिकाले मापदण्ड बिपरित कार्यविधि मिचेर शिक्षक दरबन्दी मिलान गरेको विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षकहरु र प्रहरीबीच आज झडप भएको छ ।
नगरपालिकाले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै नेपाल शिक्षक सङ्घ कञ्चनपुरले यहाँ धर्ना सुरु गरेको थियो ।
शिक्षकहरु र प्रहरीबीच आज भएको झडपमा परि घाइते भएका शिक्षक बिरेन्द्र बोहराले प्रहरीले शान्तिपुर्ण भईरहेको आन्दोलनमा प्रहरीले दमन गरेको बताए ।
३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले कुनै सुनुवाइ नगरेको र आफ्ना मागहरुलाई बेवास्ता गरेको नेपाल शिक्षक संघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष निर्मला जोशीले बताईन् ।
उपाध्यक्ष जोशीले आज भएको घटनाक्रमको भत्सर्ना गर्दै उक्त घटनाको जवाफ नगरपालिकाले दिनुपर्ने समेत बताए ।
नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष बिर्ख बहादुर मल्लले नगरपालिकाले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै नगरपालिकामा धर्ना ,रिले अनसन सुरु गरेर ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको बताए । उनले प्रहरीको झडपमा परी १ दर्जन भन्दा बढी शिक्षकहरु घाइते भएको बताए ।
प्रदेश अधक्ष्य मल्लले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।
प्रदेश अध्यक्ष मल्लले आज भएको प्रहरीको झडपमा परी १२ जना घाइते भएको बताएका छन् । प्रहरीले गरेको लाठी चार्जमा शिक्षक विरेन्द्र बोहरा, नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री अच्युत कलौनी र कांग्रेस भीमदत्त नगरपालिका–१८ का सभापति राजेन्द्र केसी, नेबिसंघ कंचनपुरका नेता इन्द्र साउँद लगायत १२ जना रहेका छ्न।
शिक्षक बोहराको महाकाली अस्पतालमा उपचार नहुदा धनगढी स्थित सेती प्रादेशिक अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको संघले जनाएको छ ।
शिक्षक संघले पेशागत माग अघि सारेर अनशन बसिरहेका शिक्षकहरु र शिक्षकहरुका मागमा ऐक्यवद्धता जनाउन गएका कांग्रेस कञ्चनपुर र भ्रातृ संस्थाका नेता कार्यकर्तामाथि शुक्रबार बिहान प्रहरीले बल प्रयोग गरेको थियो । शिक्षकहरु र प्रहरीबीच आज भएको झडपमा परि ९ जना प्रहरी र ५ जना नगर प्रहरी पनि घाइते भएका छन् ।