काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार बिहान ट्वीट गर्दै अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार नै निर्दशन दिएको जानकारी गराएका छन् ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरिसकेको छ । यस्तो अवस्थामा सुरक्षा र उद्धारको प्रतिक्षा गरिरेका नेपालीको आवश्यक समन्वय र अभिभावकत्व सरकार दायित्व भएको उल्लेख गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका छन् ।
उनले लेखेका छन्–‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने छ ।’’
आफगानिस्तानमा आइतबार तालिबान लडाकु काबुल प्रवेश गरेर सत्ता कब्जा गरेको थियो । तालिबानले युद्ध अन्त्यको घोषणा गरेपनि आफ्ना नागरिकहरुको सुरक्षाका लागि विभिन्न मुलुकहरुले नागरिकलाई फिर्ता लगिरहेका छन् । तर नेपालमा भने सांसदहरुले केही समय अगाडि देखि नेपालीहरुलाई अफगानिस्तानबाट उद्धार गर्न माग गर्दै आईरहेको भएपनि सरकारले कुनै पहल नगरेको भन्दै आलोचना भईरहेको छ ।
आइतबार भने अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि सरकारले यहाँ रहेको दूतावासहरुमा सहयोगको लागि आग्रह गरेको थियो ।