बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

राजविराज, १२ कार्तिक । राजविराजबाट काठमाडौँ आउँदै गरेको बस शनिबार बिहान त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज आइतबार शोक मनाउने भएका छन्।

सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् ।

जिल्लाका सबै स्थानीय तह प्रमुखहरुसँग शनिबार साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताए । यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा ९एमाले० सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गरेका छन्। दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ। यस्तै एमाले सप्तरीले पनि मृतकप्रति श्रदाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।