काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ ।
बैठक बिहान ११ बजेपछि सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बस्न लागेको हो ।
आजको बैठकमा पार्टीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, क्रियाशिल सदस्यता विवाद लगायतका विषयमा छलफल हुने छ । यसअघि बिहीबार पनि केन्द्रीय समितिको बैठक बसेको थियो । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए र सो क्रम आज पनि जारी रहने छ ।
महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा महाधिवेशन कार्यतालिका केन्द्रीय समितिकै निष्कर्ष बमोजिम बनाउने गरी प्रस्ताव पेश गरेका छन् ।
बैठकमा संस्थापन पक्षले मंसिरदेखि महाधिवेशन सुरु हुने गरी कार्यतालिका बनाउने धारणा राखेका थिए भने संस्थापन इतर पक्षले भदौ २३ बाटै सुरु हुने गरी कार्यतालिका बनाउनुपर्ने अडान लिएका छन् ।