काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरी अन्य परीक्षा भने कायमै राखिएको प्रति आपत्ति जनाएका छन् ।
नेता थापाले सामाजिक सञ्जालमार्फत् कक्षा १२ को परीक्षा मात्रै स्थगित गरी अन्य परीक्षा कायमै राखिएकोमा आपत्ति जनाएका हुन् ।
उनले यसको आधार र तर्क के हो भन्दै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न पनि गरेका छन् । साथै यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणाको पनि माग गरेका छन् ।
यसरी भौतिक उपस्थितीमा नै परीक्षा सञ्चालन गर्दा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्ने विश्वास सरकार दिलाउनुपर्ने वा वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नु पर्ने नेता थापाले बताए ।
उनले लेखेका छन्–‘‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुप-यो ।’’
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी साउन ३१ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले शनिबार स्थगित गरेको थियो । तर हाल त्रिभुवन विश्वविद्यालय लगायतका परीक्षा भने जारी रहेका छन् । यसैप्रति नेता थापाले आपत्ति जनाएका हुन् ।