एजेन्सी । ग्रीसको १ सय ५४ वटा जंगलमा डढेलो फैलिएको छ ।
अनिश्चित वायुका कारण आगो निकै तीव्र गतिमा फैलिरहेको अधिकारीहरूले बताएका छन् । अन्य ६ वटा इलाकामा आगो फैलनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।
एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ । स्थानीय बासिन्दाहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । आगो नियन्त्रणका लागि खटिएका ३८ वर्षका अग्नि नियन्त्रकको बिजुलीको पोलले लागेर मृत्यु भएको छ ।
यस्तै एथेन्स चेम्बर अफ कमर्सका अध्यक्षको पनि डढेलोमा परेर मृत्यु भएको छ भने अरु २० जना घाइते भएका छन् । आगलागीका कारण सयौं व्यक्ति विस्थापित भएका छन् ।
राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया टापु, प्राचिन ओलम्पिया नजिकैका क्षेत्रमा पनि डढेलो फैलिरहेको छ ।