अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोभिड १९ का कारण मृत्यु भएपछि सन्धिखर्क नगरपालिका एक हप्ताका लागि बन्द हुने भएको छ । नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नगर कार्यपालिकाको कार्यालय र १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पुर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने र सबै वडा तथा नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ६१ बर्षको उमेरमा आईतवार मृत्यु भएको थियो । कोभिड संक्रमणले विरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो ।