चिम्पान्जी र चरा तस्करीमा नाईजेरियादेखि भारतसम्मै नेटवर्क ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिम्पान्जी र चरा तस्करीमा नाईजेरियादेखि भारतसम्मै नेटवर्क !

काठमाडौँ, १० कार्तिक । नाइजेरियादेखि भारतसम्मै तस्करी गर्ने गरी ‘नेटवर्किङ’ गरेर चिम्पान्जी, बाँदर र अफ्रिकी चरा काठमाडौं ल्याइएको खुलेको छ। यसमा भारतीय र पाकिस्तानी नागरिकको मुख्य भूमिका देखिएको छ। वन्यजन्तु तस्करीमा पक्राउ परेकाहरूसँग जिल्ला वन कार्यालय काठमाडौंले बयान लिने क्रममा यस्तो तथ्य भेटिएको हो।

‘नाइजेरियादेखि भारतसम्मै वन्यजन्तु तस्करीको नेटवर्क भएको पाइयो,’ उक्त घटनाबारे अनुसन्धानको जिम्मा पाएका सहायक वन अधिकृत उत्सव थापाले  भने, ‘काठमाडौं विमानस्थलमा पनि नेटवर्कले नै काम गरेको देखिन्छ।’ पक्राउ परेकामध्ये भारतीय र पाकिस्तानी नागरिकबीच सुमधुर सम्बन्ध भएको र उनीहरूमार्फत नै स्थलमार्ग हुँदै ती वन्यजन्तु काठमाडौंबाट भारत पठाउने योजना रहेको समेत खुलेको छ।

वन कार्यालय काठमाडौंले असोज ३१ गते चिम्पान्जी, बाँदर र चरा तस्करीमा संलग्न अभियोगमा पक्राउ परेका ६ जनासँग बयान लिने काम सकेको छ । तिहारअघि नै पक्राउ परे पनि सार्वजनिक बिदाका कारण बयान ढिलो भएको हो । पक्राउ परेकामध्ये बारा स्थायी घर भई कपन बस्ने ४२ वर्षीय राजकुमार तिवारीसँग तिहारअघि नै बयान लिइएको थियो । भन्सारबाट ती वन्यजन्तु छुटाउन उनले मुख्य भूमिका खेलेका थिए । उनले विगतदेखि नै वन्यजन्तु तस्करीमा सहयोग गर्ने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को रेकर्डमा छ । उनी भन्सारका एजेन्ट हुन् ।

वन कार्यालयले कामनपा ३ बाँसबारीका ४० वर्षीय सञ्जीव भारी, पाकिस्तान कराँचीका ५५ वर्षीय जावेद अस्लम खान, भारत लखनउका ३५ वर्षीय चाँदबाबु मोहम्मद सरिफ, विहार पटनाका ५४ वर्षीय मोहम्मद फइम र पटना स्थायी घर भई स्वयम्भू बस्ने ३४ वर्षीय मोहम्मद उस्मान ९छोटु० सँग बयान लिएको हो।

यीमध्ये भारी उस्मान अवैध चरा लुकाउने घरका धनी हुन् । उस्मान नामुद तस्कर पनि हुन् । कैयौं पटक पक्राउ परी जेल बसे पनि निस्किनेबित्तिकै उनी तस्करीमै फर्किने गरेका छन् । वन्यजन्तुसहित ६ जनालाई सीआईबीले ३१ असोजमा पक्राउ गरेर १ कात्तिकमा वन कार्यालय, काठमाडौंलाई बुझाएको थियो।

वन कार्यालयले चिम्पान्जी, बाँदर तस्करीमा ६ जना नै संलग्न भएको ठहरसमेत गरेको छ । ‘यो अपराधमा नेटवर्कका अरू पनि तानिने सम्भावना छ,’ सहायक वन अधिकृत थापाले भने, ‘त्यो नेटवर्कमा को–को छन्, अझै गहिराइमा गएर अध्ययन गरिरहेका छौं ।’ चरासँगै ठूला वन्यजन्तुसमेत लुकाएर ल्याउन नाइजेरिया विमानस्थलदेखि काठमाडौंसम्म ‘सेटिङ’ गरिएको बयानका क्रममा थाहा भएको छ।

सीआईबीको टोलीले ३१ असोजमा त्रिभुवन विमानस्थलको भन्सार पास भएर बाहिरिएका दुई चिम्पान्जी, ८ बाँदर (नेपालमा नपाइने), गोल्डेन फेजन चरा ७ वटा, रिङनेट फेजन चरा २ वटा, परेवाजस्ता देखिने ढुकुर प्रजाति ३८ र सुगा ६५ वटा बरामद गरेको थियो । वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) ले वन्यजन्तु र चरा ओसारपसारमा बन्देज लगाएको छ । बरामद गरिएका वन्यजन्तुको पहिचान खुलाउन नास्टमा पठाइए पनि अहिलेसम्म जवाफ आएको छैन। आजको कान्तिपुर दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);