चुनावी प्रचारमा सरकारी गाडी, को-को हुन् गाडी फिर्ता नगर्ने सांसद ? (सूची-सहित) | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

काठमाडौं, ९ कार्तिक । निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ। निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्।

निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपसभामुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् । संसद्का १३ वटा समितिका निवर्तमान सभापतिमध्ये ९ जनले पनि गाडी फिर्ता गरेका छैनन्। उनीहरुले निर्वाचन प्रचारमा गाडी दुरुपयोग गरेको पाइएको छ।

पाँचजना प्रमुख सचेतक तथा तीनजना सचेतकले पनि सवारीसाधन फिर्ता गरेका छैनन् । संसदको कार्यकालभित्र संसद् सचिवालयबाट सभामुख, उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, प्रमुख सचेतक, सचेतक गरी २६ जनालाई सवारीसाधन दिइएको थियो। सचिवालयको रेकर्डमा ७ जनाले मात्र सवारीसाधन बुझाएको देखिन्छ।

निवर्तमान भइसकेका केही सांसदले पदाधिकारीको हैसियतमा प्राप्त गाडी अझै फिर्ता गरेका छैनन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको दफा ७ को उपदफा ३ बमोजिम पदावधि सकिएको सात दिनभित्र पदाधिकारीको हैसियतले प्रयोग गरेका सवारीसाधन बुझाउनुपर्ने हुन्छ। संसद्को पदावधि सकिएको ११ दिन बितिसकेको छ।

अर्थ समितिका प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका भीष्मराज आङदेम्बे, कृषि तथा जलस्रोत समितिका मोहनप्रसाद बराल, विधायन समितिका गंगा चौधरी सत्गौवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी रञ्जुकुमारी झा, सामाजिक न्याय तथा मानव अधिकार समितिका सुशीलकुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका डोरप्रसाद उपाध्याय, सुशासन तथा अनुगमन समितिका मोहनसिंह राठौर र संसदीय सुनुवाइ विशेष समितिका कुलबहादुर गुरुङले सभापतिको हैसियतमा पाएका गाडी फिर्ता गरेका छैनन्।

प्रमुख सचेतकका रुपमा कांग्रेसका चीनकाजी श्रेष्ठ, माओवादी केन्द्रकी रेखा शर्मा, नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्रप्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका जंगीलाल राय यादव र राप्रपाकी कुन्तीकुमारी शाहीले पनि सुविधाबापत पाएका गाडी फिर्ता गरेका छैनन्। शाही हाल सहरी विकास राज्यमन्त्री छन् । सवारीसाधन फिर्ता नगर्ने प्रमुख दलका सचेतकमा कांग्रेसकी ईश्वरी न्यौपाने, एमालेका गोकुल घर्तीमगर र माओवादी केन्द्रकी सीता नेपाली छन्। नागरिक दैनिकमा खबर छ।

ताजा समाचार