पाेखरा । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनको सरकारमा माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेको अन्तिम टुंगो लगाएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।
यो सँगै माओवादी सांसदहरू रामजी बराल, चन्द्र बहादुर बुढा र दीपक घर्ती कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन् । दिउँसो १ बजे हुने शपथ ग्रहणमा बरालले अर्थ, घर्तीले वन तथा वातावरण र बुढाले कृषि मन्त्रालय सम्हाल्ने छन् ।
गण्डकीमा गत जेठ २९ गते गठबन्धनको सरकार बनेको थियो । कांग्रेस नेतृत्वमा सरकार बनेपनि दलीय खिचातानी र मन्त्रालयको बाँडफाँडमा सहमित नजुट्दा सरकार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
आज सत्ताको नेतृत्वकर्ता कांग्रेस साझेदार माओवादीबीचको छलफलपछि सरकारमा जाने मन्त्रीको टुंगो लागेको हो । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनिसक्नुभएको छ । कांग्रेसले पनि आज नै सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको छ ।