काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सोमबार ४३ औं स्मृति दिवस मनाउनु पर्ने हो । तर यस पटक कसैले हार्दिक श्रद्धान्जली समेत राखेको पाईदैन ।
शायद कोरोना महामारी र मुलुकमा गएको बाढी पहिरोको कारण पनि उनको स्मृति दिवस ओझेलमा परेको हुन सक्छ । जीवित रहँदा पुष्पलाललाई गद्धार भन्ने र उनको निधनपछि महान भन्ने नेता र पार्टीहरु अहिले पनि नेपाली राजनीतिमा छन् । अहिले पनि उनीहरु औपचारिकताका लागि पुष्पलालको फोटो कार्यलयममा राख्ने गर्दछन् ।
विस्तारै उनको योगदानलाई भुलेर नेपालका कम्युनिष्टहरुको मार्क्सवादको देश बदलिएको छ । उनीहरु सत्ता प्राप्तीलाई महान उपलब्धी ठान्दै त्यही अभ्यासमा रुमलिई रहेका छन् ।
आजको दिनमा यति भन्न सकिन्छ पुष्पलालले खनेको मार्क्सवादको गोरेटोमा यसबेला मेलम्चीको पहिरो जस्तो भएको छ। उनको बिचारलाई बिकृतिको भलले लपक्कै छोपेको छ ।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।
२०१७ सालको राजाको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् ।