काठमाडौं । कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा उनीहरुले कोरोना महामारीको समयमा अग्रपक्तिमा रहेर काम गर्ने व्यक्तिको सम्मान गर्न आग्रह गरेका छन् ।
विरोध प्रदर्शनपछि कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएकाहरूलाई उचित सम्मान र हौसला दिनुपर्ने माग राख्दै पुन चित्र कोर्नका लागि ज्ञापन पत्र बुझाएको जानकारी दिएका छन् ।
केही दिन अघि मात्र शेर्पासहितका कलाकारहरुले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको उपचारमा खटिएकाहरुको चित्र बनाएको भन्दै महानगरले मेटाएको थियो ।