काठमाडौं । अब असार १६ गते बुधबारबाट सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोरोना भाइरसके निशुल्क उपचार हुने भएको छ ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले सम्झौता गरेका निजी अस्पतालहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाइएसँगै भोलि बुधबारबाट सरकारी अस्पताल र प्रतिष्ठानहरुबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको हो । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
यसअघि कोरोना संक्रमितको उपचारका लागि सम्झौता भएका मेडिकल कलेजहरुमा आजसम्ममा भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० दिनसम्मको मात्रै नियमानुसार सोधभर्ना उपलब्ध गराइने सूचनामा उल्लेख गरिएको छ ।
यसका साथै मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई सरकारले तोकेको दररेटभन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न गराउन पनि अनुरोध गरेको छ । यस अघि सरकराले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरुसँग सम्झौता गरी निशुल्क सेवा प्रदान गराउँदै आएको थियो ।
सो सम्झौता अनुसार निजी अस्पतालले सामान्य संक्रमितको उपचार बापत तीन हजार ५ सय, अक्सिजन आवश्यक संक्रमितको उपचारका लागि सात हजार र सघन उपचारका लागि १५ हजार दैनिक प्रति व्यक्ति रकम उपलब्ध गराउँदै आएको थियो ।