काठमाडौं । काठमाडौं उपत्यकाभित्र २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधन सञ्चालमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार निषेध आदेश जारी गर्दै आजदेखि लागु हुनेगरी काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिएकोे हो ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने छ ।
त्यसैगरी खाद्यान्न र दैनिक उपभोग्य सामग्रिका पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोर लगायतका पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्न पाइने छ ।
अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने छ ।
विवाह तथा ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म मात्रै सहभागी हुनेगरी आफ्नो घर वा बसेको स्थानमा गर्न सकिने र यसका लागि २ वटा सवारी साधन सञ्चालन गर्न दिइनेछ । सभा, सम्मेलन र गोष्ठीहरु भने खुल्ला गरिएको छैन । यो आदेश असार २१ गतेसम्मका लागि लागु हुने छ ।