नेपालगन्ज, ६ कार्तिक । मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो। नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन थियो।
आइतबार दिउँसो यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने-बिनाबिभागीय मन्त्री महेन्द्रबहादुर शाही, जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे । र उनले आफ्नो उदेश्य पनि स्पष्ट पारे-पार्टीको तर्फबाट मुख्यमन्त्री बन्ने।
शाहीको यो आकांक्षाले बाम गठबन्धनका दुई नेता जुम्लाका भण्डारी र सुर्खेतका कँडेललाई एकैपटक घोचेको छ। पहिलो संविधानसभामा निर्वाचित जुम्लाका भण्डारी पार्टी नेतृत्वसँगको ‘सहमति’ पछि जुम्लाबाट प्रदेशसभा चुनाव लड्न तयार भएका हुन। समर्थकले पनि उनलाई भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिरहेका छन्। आजको नागरिकमा खबर छ।
आफ्नो दाबीलाई बलियो पार्दै भण्डारीले भने,
– पार्टीले मेरो सन्दर्भमा अनौपचारिक डिसिजन गरिसकेको अवस्था हो ।
– त्यसैले म प्रदेशसभामा झरेको हुँ ।
– उहाँ (महेन्द्र)को बारेमा के कुरा भएको छ भन्ने मलाई थाहा छैन ।