कास्की । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले फोहर मैला व्यवस्थापनका लागि उपयुक्त जग्गा खोजी गर्न जनप्रतिनिधि, वातावरणविद् सहितको समिति गठन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिने निर्णय भएको महानगर प्रवक्ता धनबहादुर नेपालीले जानकारी गराए।
महानगरपालिकाले हाल फोहोर वडा नं १४ को बाच्छे बुडुवा मा फोहरमैला ब्यवस्थापन गर्दै आईरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेभएपछि हटाउनुपर्ने भएकाले महानगरले विकल्प खोजी शुरु गरेको हो ।
ल्याण्डफिलका लागि उपयुक्त जग्गा खोजी वा खरिद गर्न आवश्यक भएकाले समिति गठन गर्ने र सो समितिले सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने नेपालीले बताए ।
यसैगरी यही असार ९ गतेदेखी शुरु हुने महानगरको नवौं नगर सभामा प्रस्तुत गरिने नीति कार्यक्रम, वार्षिक बजेट तथा आर्थिक विधेयक अन्तिम स्वीकृतिको लागि नगर सभामा पेश गर्ने निर्णय गरिएको नेपालिले बताए।




