एजेन्सी । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्या ७४ पु-याउँदै अर्जेन्टिनाका लियोनल मेसीलाई पछाडि पारेका छन्।
विश्वकप फुटबल २०२२ को एसियाली छनौटको दोस्रो चरणमा भारतले बंगलादेश विरुद्ध २–० को जितमा दुवै गोल गर्दै क्षेत्रीले अन्तर्राष्ट्रिय गोल संख्या ७४ पु-याएका हुन् ।
सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा ३६ वर्षीय क्षेत्री १० औँ स्थानमा छन्। इरानका अली दाई एक सय ९ गोल गर्दै शीर्षस्थानमा छन् । हाल सक्रिय खेलाडीमध्ये पोर्चुगलका क्रिष्टियानो रोनाल्डो एक सय ३ गोलसहित शीर्षस्थानमा छन् ।
सक्रिय खेलाडीमा क्षेत्री, रोनाल्डोपछि दोस्रो स्थानमा छन् । यूएईका अलि माबखौत ७३ गोलसहित तेस्रो र मेस्सी ७२ गोलसहित चौथो स्थानमा छन् । ६३ गोल गरेका उरुग्वेका लुइस स्वारेज पाचौँ स्थानमा छन् ।
क्षेत्री सन् २००५ यता भारतको सिनियर राष्ट्रिय टोलीमा छन् र उनले एक सय १७ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मेस्सीले अर्जेन्टिनाका लागि एक सय ४३ सिनियर अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी पनि सन् २००५ यता सिनियर राष्ट्रिय टोलीमा छन् ।
नेपाली टोलीबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीले १३-१३ गोल गरेका हुन् ।