घोराही र तुलसीपुरका गाउँमा नि:शुल्क कोरोना परीक्षण शिविर सञ्चालन (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घोराही र तुलसीपुरका गाउँमा नि:शुल्क कोरोना परीक्षण शिविर सञ्चालन (फोटो फिचर)

दाङ । दाङको घोराही र तुलसीपुरमा गाउँ गाउँमा निशुल्क कोरोना परीक्षण शिविर सञ्चालन गरिएको छ । समुदाय स्तरमा कोरोनाको अवस्था पत्ता लगाउने गरि घोराही उपमहानगरपालिकाले गाउँ गाउँमा निशुल्क कोरोना परीक्षण शिविर सञ्चालन गरेको छ ।

उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले नगर भित्रका गाउँ गाउँमा पुगेर निशुल्क कोरोना परीक्षणको शिविर सञ्चालन गरेको हो । समुदाय स्तरमा कोरोनाको अवस्था पत्ता लगाउने गरि निशुल्क एन्टिजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।

परीक्षण स्थलमै १५ मिनेटमा कोरोना भए नभएको पत्ता लगाउने गरि एन्टिजेन परीक्षणलाई समुदाय स्तरमा लगिएको उनको भनाइ छ । घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी सहितको टोलीलाई गाउँ गाउँमा खटाएर परीक्षणलाई शिविर मार्फत सञ्चालन गरिएको छ ।

कम खर्चिलो, परीक्षण स्थलमै रिपोर्ट आउने, भरपर्दो, सङ्क्रमितको समय मै उपचार व्यवस्थापन सहज हुने भएकाले समुदाय स्तरमा एन्टिजेन परीक्षणलाई तिव्रता दिइएको उपमहानगरका मेयर नरुलाल चौधरीले बताए । उनका अनुसार कतिपय बिरामीको पिसिआर जाँच गरेपछि रिपोर्ट आउन ढिला हुँदा स्वास्थ्य अवस्था नाजुक र मृत्यु समेत हुने गरेकाले समयमै सङ्क्रमणको पहिचान गर्न यो विधिलाई शिविर मार्फत नगरका वडा वडामा लगिएको हो ।

नगरका १९ वटै वडामा निशुल्क शिविर सञ्चालन गर्ने गरि नगर अघि बढेका उनको भनाइ छ । बुधवार वडा नम्बर ६ मा ५८ जनाको परीक्षणमा एक जनामा र वडा नम्बर १९ मा १६ जनाको परीक्षणमा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । साथै उपमहानगरपालिकाले १९ वटै वडामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने, स्वास्थ्य जाँच गर्ने र परामर्शलाई निरन्तरता दिदैँ आएको छ ।

३ जना सम्मको टोली बनाइ सङ्क्रमितको घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिइन् । संक्रमित भइ घरमै बसेकाहरूको मनोबल बनाउने, स्वास्थ्य जाँच गर्ने, औषधी तथा परामर्श दिने गरी १९ वटै वडाका स्वास्थ्यकर्मीहरू घरघरमै पुगेको उनको भनाइ छ । सङ्क्रमितलाई भेट्न वडा अध्यक्ष समेत पुग्ने गरेका छन् ।

आत्मबल उच्च बनाउन र आवश्यक औषधी एवं स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीले पुग्ने गरेका हुन् । त्यस्तै तुलसीपुरमा पनि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि बेस नेपाल संस्था तुलसीपुरले घुम्ती शिविर सुरु गरेको छ ।

डाक्टर राजिब झाको नेतृत्वमा ६ सदस्यीय स्वास्थ्यकर्मीहरूको टोली गाउँ गाउँमा खटिएको बेस नेपालका कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीले जानकारी दिए ।

घुम्ती शिविरबाट पहिचान गरिएका बिरामीलाई एम्बुलेन्सबाट निशुल्क उद्धार गरि सम्बन्धी अस्पताल सम्म लैजाने ब्यवस्था गरिएको बेस नेपालले जनाएको छ ।

जिल्लामा बुधबार सम्म दोस्रो चरणको कोरोना महामारीमा ७ हजार १ सय ७१ जनामा संक्रमण देखिएको छ । त्यस्तै सक्रिय सङ्क्रमितको संख्या ७७५ रहेको छ । यसैगरी जिल्लामा हाल सम्म ६ हजार २ सय १६ जना संक्रमित निको भएका छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २२४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);