एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको छ । आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको हो ।
आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आईरहेका थिए । यस्तै टी–ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाईएको छ । आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आईरहेका छन् । यसै वर्ष भारतमा आयोजना हुने विश्वकपमा १६ टिमले खेल्ने छन् । सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।
त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।
टि–ट्वान्टी विश्वकपमा सहभागी हुने २० वटा टिमहरुलाई पाँचवटा समुहमा बिभाजन गरिनेछ जसपछि समुह चरणको खेलमा प्रत्येक समुहबाट उत्कृस्ट दुईवटा टिमहरु सुपर–८ चरण हुँदै सेमीफाइनल र फाइनल प्रवेश गर्नेछन् ।
यस्तै यू १९ क्रिकेटमा दुबै विधा दुई दुई वर्षमा हुने भएको छ । पहिलो वर्ष पुरुष र दोस्रो वर्ष महिला गरेर आयोजना गर्ने भएको छ ।