काठमाडौं । नेपाली कांग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो ।
कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय हासिल गर्न यो अभियानले सहयोग पुग्ने कांग्रेसको विश्वास छ ।
देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरु अथवा होम आइसोलेसनमा रहेका संक्रमितले प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या देखिए तिनको निःशुल्क मर्मत र समाधान गर्ने तथा आवश्यकता अनुसार उपकरणको सहि ढंगले प्रयोग गर्न जरुरी परेकालाई प्रशिक्षित गर्ने गरी अभियानको दुई लक्ष्य रहेको प्रवक्ता कांग्रेसद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।








