काठमाडाैं । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गरेको छ । इराकलाई नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् । कुवेतका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् ।
विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ । फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेलेको हो । ६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे ।
योसँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बने । यस अघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए । डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको बताए ।
यस्तै फुटबल विश्लेषक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडि सम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताए । शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ ।
कुवेत बसाईमा विश्वकप छनोटको बाँकी खेल अन्तर्गत पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ ।