चन्दननाथ नगरपालिकाद्वारा सुविधायुक्त आइसोलेसन सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

चन्दननाथ नगरपालिकाद्वारा सुविधायुक्त आइसोलेसन सञ्चालन

जुम्ला । जुम्ला जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले २५ बेडको सुविधायुक्त आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको र नगरपालिकाले आइसोलेसन सञ्चालनमा ढिलाइ गरिरहेको अवस्थामा जनगुनासो बढेपछि बुधबार सुविधायुक्त संस्थागत आइसोलेसन सञ्चालन गरेको हो ।

आइसोलेसन केन्द्र भित्र टेलिभिजन, ईन्टरनेट, सर्वसुलभ शौचालय, पोषिलो खाना नास्ताको व्यवस्था, सफा र स्वच्छ वातावरण, स्वस्थ्य सुरक्षाका साम्रगीहरु सहित आइसोलेसन सञ्चालन गरिएको मेयर कान्तिका सेजुवालले बताएकी छन् ।

सीमित स्रोत साधनका कारण आइसोलेसन सञ्चालनमा केही ढिलाइ भएको तर नागरिकको जीवन रक्षाका लागि सरकार पन्छिन नमिल्ने भएकोले तत्काल आइसोलेसन सञ्चालन गरिएको मेयरले बताइन् ।

मेयर सेजुवालका अनुसार अनुसार संक्रमितको स्वास्थ्य अवस्थामा जटिलता आउन नदिन डाक्टर र स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । त्यसका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एम.वि.वि.एस डाक्टर र नगरपालिकाले अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्ने बताइएको छ ।

नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन तत्काल पुरुष संक्रमितहरुको लागी मात्र हुनेछ । आवश्यक अनुसार पछि महिला र बालबालिकाको लागी छुट्टै आइसोलेसन निर्माण गरिने छ । आइसोलेसनमा संक्रमित कम्तीमा १० दिन बस्नुपर्ने छ । त्यसक्रममा चाहिने औसधि लगायत स्वास्थ्य सुरक्षाका सम्पुर्ण सामग्रीहरु नगरपालिकाले उपलब्ध गराउने छ ।

होम आइसोलेसनमा बसेका सङ्क्रमितले घरमा असुरक्षित महसुस गरी संस्थागत आइसोलेसनमा आउन चाहेमा, घरमा आवश्यक सुरक्षाका पुर्वाधार नभएमा त्यस्ता संक्रमितलाई पनि संस्थागत आइसोलेसनमा ल्याइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले बताए ।

आईसोलेसन केन्द्र व्यवस्थापन कार्यमा भवन उपलब्ध गराउने जुम्ला उद्योग वाणिज्य संघ, समन्वयकारी भूमिका निर्वाह गर्ने जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला प्रहरी कार्यालय र नेपाल युनिसेफले सहयोग गरेको नगरपालिकाले जनाएको छ । यस्तै, होटल रोयल गार्डनले आइसोलेसनमा २४ घण्टा बत्ति उपलब्ध गराउने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);