काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः नेपाल खनाल पक्षमा उभ्याएका छन्।बुधबार नेपाल, खनाल सहित १५ स्थायी कमिटी सदस्यसहितले ओलीविरुद्ध जारी गरेको विज्ञप्तिबाट प्रष्ट भएको हो ।
उक्त जारी विज्ञप्तिमा उनीहरुको नाम समेत समावेश भएको छ । पछिल्ला केही दिनयता देखि दुवै नेता मौन अवस्थामा थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षका अन्य सांसदले हस्ताक्षर गरेको भएता पनि भट्टराईले गरेका थिएनन् ।
‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ। सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ गत शुक्रबार उनले भनेका थिए। राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको सिफारिस गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बेला पनि भट्टराईले हस्ताक्षर गरेका थिएनन्।
विष्टले पनि हस्ताक्षर गरेका थिएनन्। तर आज सार्वजनिक गरिएको विज्ञप्तिमा भने दुवै नेताहरुको हस्ताक्षर परेकाले दुवै नेताहरुले आफूलाई एकाताको पक्षमा उभ्याएको सन्देश दिन खोजिरहेका छन् ।




