काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ ।
हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राती वर्षा समेत भएको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यसैगरी आज राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सुदूर-पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।