कोरोना महामारीका कारण मुलुकमा स्वास्थ्य संकट बढिरहँदा पनि यतिबेला जनता समाजवादी पार्टीको राजनीतिक गर्माएको छ । अहिलेको जस्तो विषम परिस्थितिमा राज्यका सबै संयन्त्र, राजनीतिक दल महामारी नियन्त्रणमा केन्द्रित हुनुपर्ने आवश्यकता भएपनि सो अनुसार हुन सकेको छैन । जनता समाजवादी पार्टीभित्रको किचलो सतहमा आउँदा यसले मधेशको नाममा गरिँदै आएको राजनीति केबल सत्ताको मोह मात्र भएको हो कि भन्ने आशंकालाई बल पुगेको विश्लेषण समेत भैरहेको छ ।
अहिले नेपाल स्वास्थ्य संकटबाट गुज्रिरहेको छ । दोस्रो लहरको कोरोनाका कारण मानवीय क्षति बढ्नुको साथै जनताको दैनिकीलाई तनावग्रस्त समेत बनाइदिएको छ । अस्पतालमा बेड अभाव, अक्सिजन अभावका विषय बाहिरिएका कारण यतिबेला घरघरमा संक्रमणको विषयमा चिन्ता बढिरहेको छ । अहिलेको विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरु दिनरात नभनि आफ्नो धर्म निर्वाह गरिरहेका छन् । विश्व नै कोरोना संकट व्यवस्थापन कसरी गर्ने भन्ने अभियानमा छ । केहि मुलुक कोरोनाले थलिएका छन् र आफ्ना नागरिकको ज्यान बचाउन लागि परेका छन् भने केहि मुलुक कोरोना सक्रमणको फैलावट रोक्न व्यस्त छन् ।
मंगलबार मात्रै नेपालमा तेस्रो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ । अब कोरोनो विरुद्धको अभियान थप सशक्त गर्नुपर्ने देखिएको छ । तर यस्तो चुनौतीका समयमा पनि नेपालमा भने राजनीतिक सरगर्मी कम हुन सकेको छैन । पछिल्ला दिनमा अन्य दलको गतिविधि सुस्त देखिएपनि जनता समाजवादी पार्टी भित्रको राजनीतिक गतिरोध चुलिएको छ ।
यो राजनीति गर्ने समय पनि होइन, महामारी नियन्त्रणमा राज्यका सबै संयन्त्र, राजनीतिक दलहरु र समाजका हरेक तह तप्काले कोरोना नियन्त्रणमा आफुलाई केन्द्रित गर्ने समय हो । तर जनता समाजवादी पार्टी भने आन्तरिक कलहलाई मलजल गरिरहेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद सचिवालयलाई पठाइरहँदा जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको नामबाट संघीय संसदमा पठाइएको पत्रमा पार्टीको छाप र लेटर प्याडको दुरुपयोग भएको प्रतिकृया दिनुभएको छ । यसबाट जसपाभित्रको लडाईं फुटको संघारमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।
अहिले को पदमा जाने ? कोसँग मिल्ने ? भन्दा पनि नागरिकको सुरक्षामा पार्टी पंक्ति परिचालन हुनुपर्ने हो । यो बाहेक अन्य कुराको चिन्ता लिने समय पनि होइन । जसपाका प्रमुख नेताहरु मिलेर कमसे कम आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भइ गाउँ टोलसम्मका कार्यकर्ताहरुलाई जनताको पिडा कम गर्न परिचालन गर्नुपर्ने हो । पार्टी स्वार्थको होइन, स्वास्थ्य संकट व्यवस्थापनमा सामूहिक प्रतिबद्धताका साथ महन्थ ठाकुर र उपेन्द्र यादव लागेको भए के हुन्थ्यो ? एकअर्का विरुद्ध सांसद भेला गर्दै आफ्नो पक्षमा हस्ताक्षर संकलन गरि शक्ति प्रदर्शन गर्नु भन्दा कोरोना संकट व्यवस्थापनका लागि साझा प्रतिबद्धताका साथ जनताको जीवनरक्षा गर्न खटिएको भए यसले उदाहरण नै कायम गर्न सक्थ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे जसपाका नेताहरु बिभाजित हुन पुगेका छन्, भनेर चर्चा नभएको त होइन । तर वास्तवीकता के छ भने मधेशवादी दलहरु कहिले पनि एक भएर अगाडी बढ्न सक्दैनन् । हिजो राजपाले सरकारलाई समर्थन दिदा तत्कालिन संघिय समाजवादी फोरमले समर्थन दिएन । पछि उपेन्द्र यादव उप्रधानमन्त्री सहित सरकारमा जाँदा राजपाले समर्थन फिर्ता लियो ।
गरीब निमुखा र सोझा मधेसी जनताहरुलाई भावुक बनाएर आन्दोलनमा होमिन आह्वान गर्दै सहिद भएको खण्डमा परिवारलाई ५० लाख दिने घोषणा गरेर मधेशवादी दलहरु आलोचित बन्दै आएका छन् । अहिले जसपाका नेताहरुलाई आन्दोलनमा बलिदान दिने व्यक्तिहरुको नाम सोध्ने हो भने कतिले सम्झन सक्लान् भन्न सकिदैन । मधेशका सबै मुद्दा सम्बोधन गराउन भन्दै जनतासँग भोट माग्न जाने नेताहरु कोरोना जस्तो महामारिमा मधेशका जनताको साथ दिन सकिरहेका छैनन् । त्यसैले अब त मधेशी जनताले पनि बुझीसके, मधेशमाथिको राजनीति केवल सत्ताको मोह मात्र हो भन्ने ।
मधेशलाई ठगेर राजनीतिको रोटी पकाउने नेताहरुले मधेश र मधेशी जनतालाई घात गरिरहेका त छैनन् ? सधैभरि मधेसको नाममा राजनीति गर्ने, आफुलाई मधेसको मसिहा ठान्ने, नेताहरु कोरोनामा छट्पटिएका मधेसका जनताको पीडा किन बुझिरहेका छैनन् ? आफ्नो हक अधिकार र समानताका लागि बलिदान दिएका जनतालाई मुर्ख बनाउने काम नेताहरुबाट भइरहेको छ । बर्षमा एक दिन संविधान दिवस बहिष्कार गरेर बाकी ३ सय ६४ दिन त्यही संविधानले दिएका सबै सेवा सुविधा स्वीकार गरेका नेताहरुले अहिले पनि पार्टीमा पदको लडाइ जारी राखेका छन् । यसको मूल्यांकन जनताले गर्छन् भन्ने तर्फ पनि हेक्का राख्नुपर्छ ।