काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत नियमित प्रक्रियाबाट नै बजेट आउने बताएका छन् ।
आइतबार पार्टी विवाद सभाधानका लागि कार्यदल गठनका निम्ति नेता माधवकुमार नेपालसँग सिहंदरबारमा बसेको छलफलबाट बाहिर आउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा जिवितै रहेकाले नियमित प्रक्रियाबाट नै बजेट ल्याइने बताएका हुन् । उनले अध्यादेशबाट बजेट ल्याउनेबारे कुनै छलफल नभएको पनि जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले गएको बैशाख २७ गते संसदबाट बहुमत पाउन असफल भएपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतले ओली नै प्रधानमन्त्री बनेका थिए ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ । बजेट ल्याउने समयसम्म ओली प्रधानमन्त्रीमा रहने नरहने नै टुंगो नभएका कारण यसपटक अध्यादेशबाट बजेट ल्याइने अनुमान गरिएको थियो ।