काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल जारी रहेको छ । सिंहदरबारमा बसेको अध्यक्ष ओली र नेता नेपालबीचको छलफलले पार्टीमा भएको विवाद समाधानका लागि गठन गर्न लागेको कार्यदलको सदस्य टुंगो लगाइने बताइएको छ ।
विवादको उत्कर्षमा पुगेको एमालेमा अध्यक्ष ओलीले नेता नेपाल सहित ४ नेताको निलम्बन फुकुवाका साथै २०७५ जेठ २ मा फर्किन सहमति जनाएपछि पार्टी विवाद समाधान सुरुवातको संकेत देखिएको हो ।
पार्टीमा रहेका विवादहरुलाई समाधान गर्दै लाने सहमति अनुरुप कार्यदल गठनका लागि सदस्य टुंगो लाग्न सकेको थिएन । नेपाल पक्षका कार्यदलमा रहने व्यक्ति करिव टुंगो लागिसकेको भएपनि संस्थापन पक्षबाट भने विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलबाहेक अन्यको टुंगो लागेको छैन ।
सो कार्यदलमा नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त टुंगो लागिसकेका सदस्य हुन. । ओली पक्षले रामबहादुर थापालाई सदस्यमा राख्न खोज्दा नेपाल पक्षले असन्तुष्टि जनाएका छन् ।