राष्ट्रसंघ मानवअधिकार परिषद्मा नेपाल पहिलोपटक विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

काठमाडौं, ३१ असोज । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ।

नेपाल सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि मानवअधिकार परिषद्मा सदस्य बनेको हो। सन् २००६ मा मानवअधिकार परिषद् बनेयता पहिलोपटक नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य बनेको हो। यद्धपी, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग रहँदा सन् १९९३ र २००३ मा गरी दुईपटक नेपाल आयोग सदस्यमा निर्वाचित भएको थियो।

एसिया प्यासिफिक ग्रुपबाट नेपालसँगै कतार, पाकिस्तान र अफगानिस्तान परिषद् सदस्यमा विजयी भएका छन्। निर्वाचनमा मलेसिया पराजित भएको छ। परराष्ट्रसचिव शंकरदास बैरागीले नेपालले मानवअधिकार परिषद् सदस्यमा जित्नु गौरवको विषय भएको बताए।

‘एसिया प्यासिफिक ग्रुपमा सबैभन्दा बढी मत पाएर मानवअधिकार परिषद् सदस्यमा हामी विजयी भएका छौं। यो हाम्रो बहुपक्षीय कूटनीतिमा महत्वपूर्ण उपलब्धि हो। आगामी दिनमा मानवअधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा अझ बढी काम गर्न मौका प्रदान गर्नेछ’ सचिव बैरागीले भने।