यमपञ्चक अर्थात तिहार पर्व शुरु, पहिलो दिन आज 'काग तिहार' | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

काठमाडौं, ३१ असोज । हिन्दूहरुको दोस्रो ठूलो पर्व यमपञ्चक अर्थात तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कागपूजाबाट गरिन्छ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ। वैदिक मान्यताअनुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ । काग अत्यन्त चलाख पंक्षी र सर्वभक्षी प्राणी हो। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ।

आजको दिन कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ। आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ।