काठमाडौं । नयाँ सरकार बनाउने दौड अन्तिम विन्दुमा पुग्न लागेको बेला कांग्रेसले पदाधिकारी बैठक राखेको छ भने माओवादी केन्द्रले स्थायी कमिटी बैठक राखेको छ । उता, एमालेले बिहान स्थायी कमिटी बैठक राखेर सत्ता दौडमा अर्थपूर्ण कदम चाल्दै चार नेताको निलम्बन फुकुवा गरेको छ ।
कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको हो भने माओवादीको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको हो ।
सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीको भने चरम विवादका कारण बैठक नै बसेको छैन । सो पार्टीको अध्यक्ष मण्डल, सचिवालय, केन्द्रीय समिति कुनैको पनि बैठक बस्न सकेको छैन । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा जसपाले विभाजित भएरै भाग लिएको थियो । जसपाको उपेन्द्र खेमाले प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो भने महन्थ ठाकुर खेमा तटस्थ बसेको थियो ।
जसपाभित्रको आधा हिस्सा तटस्थ बसिदिनाले कांग्रेस माओवादीले सरकार गठन गर्न नसक्ने अवस्था आएको छ । तैपनि कांग्रेस र माओवादीले आज राति नौ बजे अगावै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दाबी गर्ने भएका छन् । उनीहरुले जसपाका उपेन्द्र यादवको पनि हस्ताक्षर सहितको पत्र राष्ट्रपतिलाई दिन लागेका हुन् ।
जसपाका प्रथम अध्यक्ष भने महन्थ ठाकुर हुन् । महन्थ सहभागी नभएको गठबन्धनलाई राष्ट्रपति भण्डारीले मान्यता दिने सम्भावना लगभग नरहेको बताइन्छ । त्यो अवस्थामा राति नौ बजेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पुन प्रधानमन्त्री नियुक्त हुने सम्भावना बढेको छ ।
आइ.एन.ए