काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक ३ बजेको लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समसामयीक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि संयुक्त सरकार बनाउन पहल सुरु गरेको कांग्रेसले अब कसरी अघि बढ्ने भन्ने विषयमा सल्लाह गर्न बैठक बोलाएको हो ।
यस अघि माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)र नेकपा एमालेको माधव गुटसँग छलफल गर्न लागेका देउवाले सो छलफल स्थगित गरी पार्टीको बैठक बोलाएका छन् । माओवादी र जसपाको समर्थन लिएर संयुक्त सरकार बनाउने सोचमा रहेका देउवा जसपाको मत विभाजन भएपछि अप्ठेरोमा परेका छन् ।
जसपा अध्यक्ष मध्येका एक उपेन्द्र यादवले सोमबार माओवादी र कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने विज्ञप्ति मार्फत संयुक्त हस्ताक्षर गरे लगत्तै जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरले जसपा वैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । जसपाको तर्फबाट आधिकारिक धारणा राष्ट्रपतिलाई बुझाउने ठाकुरले तयारी गर्दै छन् ।
जसपाको महन्थ पक्षले मात्रै समर्थन नगर्दा पनि आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका छन् । यस्तो अवस्थामा कांग्रेस नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना देखिँदैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते भित्र संयुक्त सरकार गठनकोलागि आधार सहितको दाबी पेश गर्न आह्वान गरेकी छिन् । सो अवधिमा संसद्मा विद्यमान सदस्य संख्याको बहुमत रहेको दाबी पेश गर्न नसके पुनः राष्ट्रपतिले सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्ने छिन् ।
ओली प्रधानमन्त्री नियुक्त भएपछि एक महिना भित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्ने छ । यसरी बनेको प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसके प्रतिनिधि सभा भंग गरी निर्वाचनको घोषणा गर्ने संवैधानिक व्यवस्था छ ।
आइ.एन.ए