कोभिड नियन्त्रणको लागि माधव नेपालको आयो यस्तो अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोभिड नियन्त्रणको लागि माधव नेपालको आयो यस्तो अपिल

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले कोभिड नियन्त्रणको लागि भन्दै १३ बुँदे अपिल जारी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आइतबार अपिल जारी गरी कोभिड खेप खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवता विरोधी कार्य र अपराध भएको बताएका छन् ।

त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न नेपालले सरकारसँग माग गरेका छन् । उनले कोभिडको खेप जस्तो जनताको जीवन रक्षाको खोप खरिद गर्न निजी क्षेत्रलाई दिने कार्य बन्द गर्न भन्दै खेप निःशुल्क र सर्वसुलभ बनाउने प्रबन्ध गर्ने योजना ल्याउन सरकार समक्ष अपिल गरेका छन् ।

अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न पनि नेपालले माग गरेका छन् । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्ट तुरुन्त चालु गरी अस्पताललाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको भएकोले त्यसलाई पुरा गर्नुपर्ने उनको भनाई छ ।

अस्पतालमा बेड खाली भए नभएको नागरिकलाई सूचना दिन एकीकृत सूचना प्रणालीका लागि वेबसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोही अनुसार सेवा दिन नेपालले सरकारलाई सुझाव दिएका छन् । समाजसेवी विभिन्न निकाय तथा संस्थाले स्वःस्फूर्त रुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहत लगायतका कार्य गरिरहेकामा ती सबै सेवालाई एकीकृत रुपमा अघि बढाउन उनको आग्रह छ ।

कोभिडको उच्च जोखिममा रहेका क्षेत्रमा कडाइ गर्नुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, विज्ञ सहितको संयन्त्र बनाई महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गर्नुपर्ने पनि उनको अपिलमा उल्लेख छ ।

अस्पतालहरुले धान्न नसक्ने गरी बिरामीको चाप बढेकोले अस्पताललाई आवश्यक सबै खाले श्रोत साधनको पर्याप्त व्यवस्था गरिनुपर्ने नेता नेपालको सुझाव छ । आईसीयू, भेन्टिलेटर लगायतका बेड थप्ने कार्य गर्न नेपालको आग्रह छ ।

यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरुलाई आह्वान गर्न पनि उनकोे सुझाव छ । स्वास्थ्यकर्मीलाई पीपीई लगायतका अत्यावश्यक सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन उनले सुझाएका छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायत बिरामीको उपचार कार्यमा संलग्नको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिई उनीहरुलाई शतप्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गर्न पनि उनको आग्रह छ ।

कोभिड नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारी साधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्ने नेपालको सुझाव छ ।

धेरै जसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न नेता नेपालले अनुरोध गरेका छन् ।

नेपालले स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न पनि सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);