एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो । चेल्सीलाई जित दिलाउन हाकिम जिएच र मार्कोस अलोन्सोले एक एक गोल गरे । सिटीका रहिम स्ट्रर्लिङले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ४४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता दोब्बर बनाउने मौका पायो । तर, सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्न सकेनन् । अग्युरोको प्रहार चेल्सीका गोलकिपर एडुवार्ड मेन्डीले उत्कृष्ट बचाउ गरे ।
खेलको ६३ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समय अलोन्सोले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
जितसँगै चेल्सीले ३५ खेलमा ६४ अंक जोडेको छ । चेल्सी तेस्रो स्थानमा रहेको छ । हारसँगै सिटीलाई भने उपाधि जित्न अर्को खेल कुर्नु पर्ने भएको छ । उपाधि नजिक रहेको सिटी ८० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।