प्रतिनिधिसभा र प्रदेसभा निर्वाचन : आज समानुपातिक बन्दसूची बुझाउने दिन | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

काठमाडौं, २९ असोज । प्रतिनिधिसभा र प्रदेसभाका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने कार्यक्रम छ।

बन्दसूची बुझाएसँगै औपचारिक रुपमा चुनावी प्रक्रिया सुरु हुनेछ। निर्वाचन आयोगमा दर्ता भई समानुपातिकतर्फ ८८ वटा दलले चुनाव चिह्न लिइसकेका छन्। निर्वाचन आयोगले आइतबार बन्दसूची बुझाउन र कात्तिक ६ सम्म त्यसमा संशोधन गरी पेस गर्ने समय दिएको छ।

राजनीतिक दलहरू आज उम्मेदवारको प्रारम्भिक बन्दसूची तयार गरी पछि संशोधन गर्ने मनस्थितिमा छन्। समानुपातिक सूचीको अन्तिम टुंगो लगाउन शनिबार साँझसम्म एमाले स्थायी समितिको बैठक बस्न सकेको छैन। बिहीबार बसेको बैठकमा प्रारम्भिक छलफल भएको सचिव योगेश भट्टराईले बताए । पछि संशोधन गर्नेगरी आइतबार प्रारम्भिक सूची पेस गरिने उनले बताए।

समानुपातिकतर्फ ५० प्रतिशत महिलासहित दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनेगरी बन्दसूची तयार गर्नुपर्ने बाध्यताले दलहरूलाई असजिलो भएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन प्रक्रिया भदौ २४ बाट सुरु भएको हो। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको निर्वाचन कार्यतालिका प्रकाशित भएपछि औपचारिक प्रक्रिया सुरु भएको हो’, उनले भने, ‘समानुपातिकतर्फ कुन–कुन प्रदेशबाट कति दलले भाग लिने भन्ने निक्र्योल भइसकेपछि दलहरूलाई चुनाव चिह्न दिइसकेका छौं। आइतबार दलहरूले सूची पेस गर्दैछन्।’

प्रतिनिधिसभाका लागि समानुपातिक सूची तयार गर्दा दलित १३.८, आदिवासी जनजाति २८.७, खस आर्य ३१.२, मधेसी १५।३, थारु ६.६ र मुस्लिम ४.४ प्रतिशत तोकिएको छ। प्रदेशसभाका लागि जनसंख्या र जातीय आधारमा प्रतिशत तोकिएको छ।