काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि सरकारले बेड उपलब्ध गराउन नसकेको भन्दै आक्रोस व्यक्त गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा सरकार गम्भीर नभएको भन्दै आक्रोस व्यक्त गरेको हो ।
पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी गरिएको विज्ञप्तिमा विवेशशील साझाले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि ६ बुँदे सुझाव दिएको छ । साथै,विवेकशील साझा पार्टीले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोनाविरुद्धको संघर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न समत आग्रह गरेको छ।
सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव
१.काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति तथा स्रोत साधनको समुचित प्रयोग गर्न ।
२.नेपाली सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको तत्काल स्थापना गर्न ।
३. सेना र प्रहरीकासहित देशभित्र र देशबाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपील ।
४.मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीई जस्ता आवश्यक सामग्री सहयोगको अपील ।
५.हाल रोकिएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ।
६. निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइपरे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी ।