काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढाउनुको साथै संक्रमितहरुको उपचारका लागि चाहिने आईसीयू–भेन्टिलेटर र बेडको तत्काल व्यवस्था गर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।
शुक्रबार निजी निवास बुढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सरकारको लापरबाहीका कारण अस्पतालहरुमा भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताए ।
नेपालमा कोरोनाको जाखिम उच्च रहेको भन्दै देउवाले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात् नगरेको बताएका छन् ।
सभापति देउवाले अधुरा कामलाई नै पुरा भएको भन्दै उद्घाटन, भिडभाड र तकडभडकमा मग्न ओली सरकारले संक्रमण रोक्न कुनै ठोस योजना नबनाउनाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाए ।
परीक्षण नगरी उपत्यका छाड्न दिँदा लाखौं मानिस जिल्ला जिल्ला पुगेको र यसले संक्रमण व्यापक बन्न सक्ने भन्दै देउवाले निषेधाज्ञाको सदुपयोग गर्न समेत सबैमा आग्रह गरेका छन् ।
फरक प्रसंङगमा सभापति देउवाले एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने अडान समेत रोखेका छन् । नेपालमा आउन लागेको यति ठूलो विदेशी अनुदानबारे अनावश्यक भ्रम फैलाइएको देउवाको टिप्पणी छ ।