खुला सीमा र नागरिकको लापरबाहीले कपिलवस्तुको विजयनगर संक्रमणको जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

खुला सीमा र नागरिकको लापरबाहीले कपिलवस्तुको विजयनगर संक्रमणको जोखिममा

काठमाडौं । भारतसँग सिमाना जोडिएको कपिलवस्तुको विजयनगर गाउँपालिका कोभिड–१९ संक्रमणको उच्च जोखिममा छ । भारतमा कोभिड महामारीको सुनामी आइरहेको छ । भारतमा दैनिक लाखौं मानिस संक्रमित भइरहेका छन् । हजारौंले ज्यान गुमाएका छन् ।

खुला सिमाना भएकाले भारतमा देखिएको कोभिड सुनामी नेपाल भित्रने डर बढेको बताउँछन् विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा मगर । खुला सिमाना भएकाले मानिसहरु यता उता आउजाउ गर्ने भएपछि गाउँपालिका उच्च जोखिममा परेको उनको भनाई छ । रोक्ने कोशिस गरेपनि नसकिएको उनको गुनासो छ ।

अध्यक्ष थापाका अनुसार मंगलबारदेखि विजयनगरमा फेरि संक्रमित भेटिन थालेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकामा मंगलबार एकैदिन आठ जनामा कोरोना संक्रमण देखियो । गाउँपालिकामा गरिएको एण्टिजेन परीक्षणमा ती संक्रमितको पहिचान भएको हो ।

भारतमा कोभिड फैलिएको छ, विजयनगरका स्थानीय र भारतीय नागरिक विवाह भोज, भतेर र सामान किन्नका लागि वारीपारीको बजारमा आउजाउ गर्छन्, हामीले लाखौं कोशिस गर्दा पनि रोक्न सक्दैनौं, सायद यही क्रममा उनीहरुमा संक्रमण स¥यो होला’ थापाले भने ।

नागरिकको आनी बानीमा सुधार नआएसम्म संक्रमण नरोकिने बताउँदै थापाले भने ‘नागरिक गम्भीर नभएसम्म विजयनगरको हकमा कुनै पनि मानिस कोरोनाबाट अछुतो रहने देखिँदैन ।’ उनका अनुसार महामारीको आगो बलिरहँदा पनि नागरिकले सामान्य सावधानी समेत अपनाउँदैनन् ।

वैशाख लागेपछि हरेक दिन भारतबाट दुई–चार वटा विवाह आएको छ, यताबाट पनि त्यतिकै गएको छ, जन्ती आउने चलिरहेको छ, खुल्ला सिमाना भएकाले रोकेर रोक्न सकिने अवस्था छैन, यसको लागि नागरिक नै सचेत हुन आवश्यक छ, सेना, पुलिस लगाएर सकिँदैन’ थापाको भनाइ छ ।

संक्रमितको उपचारका लागि गाउँपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेशन तयार गरेको छ । घरमै आइसोलेशनमा बस्दा समस्या हुने वा घरमा बस्ने ठाउँ नहुनेहरुका लागि सो आइसोलेशन बनाइएको अध्यक्ष थापाले जानकारी दिए ।

गाउँपालिकाले स्वास्थ्यसम्बन्धी सचेतना अभियान पनि चलाइरहेको थापाले बताए । ‘भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात धुने, सरसफाइमा ध्यान दिने, पोषिलो खानेकुरा खानुपर्छ भनेर सिकाइरहेका छौं, तरपनि नागरिक जति गम्भीर हनुपर्ने हो भएका छैनन्’ अध्यक्ष थापाले बताए ।

गाउँका प्रत्येक नागरिकलाई सुरक्षित बसौं, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौँ, आफू बचौँ, अरुलाई पनि बचाऔँ, अत्यावश्यक नभइ घरबाहिर ननिस्कौं भन्दै थापाले आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);