मनिका खतिवडा
काठमाण्डौँ, २८ असोज । प्रमुख दलहरुले नै प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेकादेखि भ्रष्टाचार गरेर जेलको चिसो हावा खाइसकेकासम्मलाई उम्मेदवार सिफारिस गरेपछि दलहरुको नियतमा शंका उब्जिएको छ ।
नेपाली कांग्रेसले गुन्डा नाइके मीनकृष्ण महर्जन, भ्रष्टाचारीहरु खुमबहादुर खड्का र भ्रष्टाचार मुद्दा खेपिरहेका गोविन्दराज जोशीलगायतलाई सिफारिस गरेको छ भने अर्का विवादित व्यक्ति रोज राणा अर्थात् सरोज थापा पनि सूचीमा छन् । महर्जनलाई ललितपुर र राणालाई प्युठानबाट प्रदेशसभा उम्मेदवारका लागि जिल्ला कमिटीले सिफारिस गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन र संविधानले समेत उम्मेदवारका लागि अयोग्य ठहर गरेका व्यक्तिलाई सिफारिस गर्नुले दलहरु जनमतमा भन्दा डनमतमा लिप्त भएको देखाएको छ ।
एमालेले पनि आफ्नो चुनावी मापदण्डमा सार्वजनिक आचरण राम्रो भएको र संविधान र कानुनअनुसार उम्मेदवार हुन योग्य व्यक्ति सिफारिस गर्ने जनाए पनि गुन्डा नाइके दीपक मनाङेलाई मनाङबाट प्रदेशसभा उम्मेदवारका लागि सिफारिस गरेको छ । दलहरुको पछिल्लो गतिविधिविरुद्ध सर्वसाधारणले समेत आक्रोश व्यक्त गर्न थालेका छन् ।
एमालेबाट सिफारिस भएका मनाङेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा किनारा लागेको छैन । कांग्रेसका मीनकृष्ण महर्जनको अपहरण र फिरौतीसम्बन्धी मुद्दा जिल्ला अदालत ललितपुरमा कायमै छ । जनतालाई भन्दा आपराधिक चरित्रका व्यक्तिलाई सर्वेसवा ठानेका दलहरुले कस्तो राजनीतिक पद्दति विकास गर्न खोजिरहेका छौं भन्नेतर्फ भने हेक्का राख्न जरुरी छ ।