लुम्बिनीका पाँच प्रदेश सभा सदस्यलाई बर्खास्त गर्ने जसपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लुम्बिनीका पाँच प्रदेश सभा सदस्यलाई बर्खास्त गर्ने जसपाको निर्णय

काठमाडौं । लुम्बिनी प्रदेशमा पार्टी निर्देशनविरुद्ध जाने जनता समाजवादी पार्टी (जसपा)का पाँच प्रदेश सभा सदस्यको पद खोसिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका तीन सहित पाँच प्रदेश सभा सदस्यलाई कारबाही गरेको हो । कारबाहीको जानकारी प्रदेश सभालाई गराउने तयारी रहेको बताइएको छ ।

पार्टीको बैठकमा सबै सदस्य उपस्थित नभएपनि बहुमत सदस्यको हस्ताक्षर सहित यो निर्णय भएको हो । प्रस्तावमा कार्यकारिणी समितिका ५१ मध्ये ३० सदस्यको हस्ताक्षर रहेको छ । बैठकमा यो प्रस्ताव आउने थाहा पाएसँगै राजेन्द्र महतो र महन्थ ठाकुर निकट सदस्यहरु अनुपस्थित रहेका थिए ।

लुम्बिनी प्रदेशमा जसपाका ६ प्रदेश सभा सदस्य छन् । यसअघि पार्टीले लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न निर्देशन दिएको आधारमा जसपाका प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रस्ताव दर्ता भएको थियो । तर सोही दिन नै जसपाबाट तीन जनाले मन्त्री पदको सपथ लिएर पार्टीको निर्देशनको अवज्ञा गरेका थिए ।

यसअघि नै पार्टीले ती प्रदेश सभा सदस्यलाई कारबाही गर्ने तयारी गरेपनि बैठक नै बस्न नसकेकाले प्रक्रिया अघि बढेको थिएन । पछिल्लो समय जसपामा स्पष्ट दुई धार देखिएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेता वर्तमान केपी शर्मा ओली सरकारमा सामेल हुन चाहिराख्नुभएको छ भने उपेन्द्र यादव, बाबुराम भट्टराई लगायतका नेता सरकार फेर्ने कसरतमा हुनुहुन्छ । मंगलबारको निर्णयसँगै पार्टीमा यादव र भट्टराई समूह बहुमतमा रहेको समेत पुष्टि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);