काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यदि राणा भएको भए धरहराको नाम ‘केपी टावर’ रहने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
शनिबार नवनिर्मित धरहराको उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले यस्तो बताएका हुन् । शाक्यले भने– ‘सायद आज ओली नभई राणा भएको भए यो टावरको नाम केपी टावर हुन्थ्यो होला । किनकि त्यतिबेला राणाकालमा कसैको बोल्न सक्ने आँट थिएन, साहस थिएन ।’
विद्यासुन्दरले राणाकालमा जति पनि दरबार, ऐतिहासिक सम्पदा बने ती सबै राणाहरुमध्ये कसै न कसैका नाममा रहेको स्मरण गराए ।
राणाकालमा जे गर्यो त्यसैलाई साथ दिने, त्यसैलाई जयजयकार गर्ने प्रचलन रहेको पनि विद्यासुन्दरले बताउँदै अहिले केही काम गर्दा खोइरो खन्ने प्रवृत्ति रहेकोमा गुनासो गरे ।
पुरानो धरहरालाई संरक्षण गरेर राख्ने र नयाँ धरहरालाई मौलिकता र ऐतिहासिक रूपमा झल्काउने काम भएको शाक्याको दाबी छ ।
पहिलो प्रधानमन्त्रीत्व कार्यकालमा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको काम सम्पन्न गर्न असम्भव भएको पनि मेयर शाक्यले स्मरण गरे । तर, २०७४ को निर्वाचनपछि पुनः प्रधानमन्त्रीमा नियुक्त भएपछि धरहराको काम सम्पन्न गर्न सफल भएकोमा शाक्यले प्रधामन्त्रीलाई धन्यवाद समेत दिए ।