काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले राष्ट्रपतिबाट प्रदान गरिएको विभुषणमा सरकारले गम्भीर त्रुटी गरेको भन्दै त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी छिन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सचेत भुसालले विभुषणमा नेपालको संसोधित नक्सा नराखिएकोमा गम्भीर आपत्ती जनाउदै त्यसबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरेकी हुन् । उनले सरकारले संसोधित नक्सा नराखेर संसदको निर्देशन कार्यान्वयन नगरेको टिप्पणी गरिन् ।
नक्सा संसोधन भएपनि भूमि फिर्ता ल्याउने विषयमा सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र सो भूमिमा पुर्वाधार निर्माणका काम भईरहदा पनि उपयुक्त कदम नचालिएको भन्दै त्यसतर्फ गम्भीर आपत्ती जनाइन् ।
भुसालले नेपालको विकास हेर्न लखनउ जाउ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीहरु नेपालको भूमिमा छौं कि छैनौं ? भन्ने भ्रम श्रृजना गर्ने काम गरेको टिप्पणी गरिन् । सरकारले एमसिसीलाई संसदमा पेश नगरेर उल्टै एमसिसी पास गर्न दिईएन भनेर भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले तत्काल एमसिसीलाई टेबुल गरि संसदीय प्रक्रिया अघि बढाउन पनि ध्यानाकर्षण गराइन् ।
भुसालले मुल्यवृद्धिले जनताको ढाड सेकिएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराइन् । वर्तमान सरकारले महँगी घटाउन नसकेको, सुशासन कायम गर्न नसकेको तथा संविधानमा प्रत्याभूति गरेका कुराहरुको व्यवस्था गर्न नसकेको टिप्पणी गरिन् ।




