असोज २८ मै संसद् विघटन, भोलि अन्तिम बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २६ असोज । प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ। दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले समानुपातिक उम्मेदवार मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसद्को आयु कायम रहने सहमति गरेको हो।

प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिन संसद्को आयु स्वतः समाप्त हुने संवैधानिक व्यवस्था रहे पनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्तालाई मान्ने कि समानुपातिकको सूची मनोनयनलाई आधार मान्ने भन्ने अन्योल थियो। निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ कात्तिक ५ गते मनोनयनको दिन तोकेको छ।

सभामुख ओनसरी घर्तीले समानुपातिकको मनोनयनलाई आधार मानेर संसद् विघटन हुने भन्दै सरकारलाई अत्यावश्यक कानुन पारित गर्नुपर्ने भए त्यसअनुसारको तयारी गर्न जनाउ दिइसकेकी छन्। सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो। ‘संविधानको व्याख्या गरेर संसद्ले नै निर्णय गरोस् भन्ने पक्षमा हामी छौं,’ आयुक्त नरेन्द्र दाहालले भने।

सभामुख घर्तीले बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा साउन २७ गते संसद्को ‘अन्तिम बैठक’ हुने जनाउ दिएकी थिइन्। केही सांसदले कात्तिक ४ गतेसम्म संसद् रहने तर्क गरे पनि सभामुखले भविष्यमा संवैधानिक प्रश्न उठ्नसक्ने भन्दै समानुपातिकको सूची दर्ताको अघिल्लो दिन नै संसद्को आयु स्वतः समाप्त हुने तर्क गरेकी थिइन्।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समानुपातिकको सूची पनि प्रतिनिधिसभाको मनोनयन नै भएको भन्दै शुक्रबारसम्म मात्र संसद् बैठक सञ्चालन हुने बताए। शनिबार (२८ गते) म्याद समाप्त हुने भएपछि शुक्रबारसम्म मात्र बैठक सञ्चालन हुने भएको हो। समय निकै कम भएकाले बुधबार संसद्ले नियम निलम्बन गरी भाषा आयोग विधेयकलाई छोटो विधिबाट पारित गर्ने प्रक्रिया अघि बढाएको छ। सांसदहरूलाई विधेयकमा संशोधन हाल्ने (७२ घन्टाको समय) लाई निलम्बन गरिएपछि शुक्रबार बस्ने अन्तिम बैठकबाट उक्त विधेयक पारित गर्न बाटो खुलेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);