काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् ।
नेपाली कांग्रेस नुवाकोटद्धारा काठमाडौंमा आयोजित कार्यक्रममा उपस्थित भएका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए कांग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए । उनले भने ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौंं ।’
सरकार बाहिर रहेका, प्रतिगमनको विरुद्धमा संघर्ष गरेका र संसद पुनस्थापनाका लागि आवाज उठाएका तीनदलकोबीचमा वार्ता गरी समझदारी बनाई सहमति गरेर प्रधानमन्त्री ओलीलाई हटाउन संसदमा अविश्वासको प्रस्ताव लैजाने उनको भनाई छ ।
उनले अव बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि दाबी गरे । तर यस विषयमा अन्य दलहरुसँग छलफल गर्न कांग्रेस तयार रहेको पनि स्पष्ट पारे । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसको महाधिवेसन समयमै हुने पनि जानकारी दिए । महाधिवेसन नभए कांग्रेसको अस्तित्व नै समाप्त हुने भएकाले समयमै महाधिवेसन सम्पन्न गरिने उनको भनाई छ ।