काठमाडाैं, २१ चैत । म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ ।
प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार विहान संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् ।
प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाउनुभयो । म्यानमारमा सैनिक दमन र मानवअधिकार उलङ्घन बन्द गर्न माग गरिएका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।