काठमाडौं, १९ चैत । सरकार र थारु कल्याणकारी सभाबीच आज पनि वार्ता हुँदैछ । चैत १७ गते भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज दोस्रो चरणको वार्ता हुन लागेको हो ।
मंगलबारकै वार्ताको निरन्तरता स्वरुप आज पनि छलफल हुन लागेको सरकारी वार्ता टोलीकी सदस्य भगवती चौधरीले जानकारी दिइन् । चौधरीका अनुसार दिउँसो १ बजे वार्ता बस्ने तय भएपनि अलि ढिलो हुन सक्नेछ । पहिलो चरणको वार्ता सौहार्दपूर्ण र सकारात्मक रहेको सरकारी वार्ता टोलीले जनाएको थियो ।
थारु कल्याणकारिणी सभा, थारुवान–थरुहट संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सरकारले चैत १६ गते तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सरकारी वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद् तथा एमाले नेतृ भगवती चौधरी छन् ।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेका छन् ।