अर्घाखाँची, १६ चैत। नेकपा एमाले अर्घाखाँचीले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा एमालेका तत्कालीन जिल्ला सचिव समेत रहेका सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।
मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सोमबार बसेको बैठकले पार्टी हित विपरीत काम गरेको भन्दै तीनैजनालाई पार्टीको संगठित सदस्यता समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको एमालेका अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।
पार्टी विरोधि गतिविधिमा संलग्न अन्यलाई स्पष्टिकरण सोधिने जिल्ला अध्यक्ष आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । शनिबार मात्रै चौहानको नेतृत्वमा ७० सदस्यीय समानान्तर कमिटी घोषणा भएको थियो ।