काठमाडौं, १२ चैत । विगत एक महिना देखि बेपत्ता रहेका महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव फेला परेको छ ।
पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीय पत्नी गीतादेवीको शव गाडिएको अवस्थामा प्रहरीले फेला पारेको हो । उनीहरुको शव घरभन्दा करिव डेढ किलोमिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ ।
गएको फागुन १० गते झा दम्पती ओछ्यानबाटै बेपत्ता भएका थिए ।
प्रहरीले उनीहरुको शव पाँच फिट गहिरो खाल्डो खनेर पुरिएको जनाएको छ । शव सडिसकेको र शव राखेको खाल्डोमा नुन समेत पाइएको प्रहरीले जानकारी दिएको छ ।
झा दम्पतीको खोजीमा प्रदेश–२ प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली सक्रिय थियो । प्रहरीले घटनामा संलग्न आरोपमा झा दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय हरेन्द्र ठाकुरसहित चारजनालाई पक्राउ गरिसकेको छ ।