काठमाडौं, ५ चैत। नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय कार्यकर्ता भेला आज सकिने भएको छ ।
बुधबारदेखि ललितपुरमा सुरु भएको भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधव नेपालले पेस गरेको अवधारणा पत्र पारित गरेर आज भेला सम्पन्न गर्न लागिएको हो ।
नेता नेपालले बुधबार प्रस्तुत गरेको अवधारणापत्रमा आज समूहगत रुपमा सुझाव संकलन गरिने छ । अवधारणामाथि छलफल गर्न सात प्रदेशका साथै सम्पर्क कमिटी, जनसंगठन, पेशागत संगठन र केन्द्रीय निकाय तथा विभाग गरी १० वटा समूह बनाइएको छ ।
पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी एकीकृत धारणा तय गर्न र त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गर्न भन्दै एमालेको नेपाल–खनाल समूहले दुई दिने भेला आयोजना गरेको हो ।
यो कार्यकर्ता भेलालाई अध्यक्ष ओली पक्षले भने गुट भेलाको संज्ञा दिँदै आएको छ ।